बिमस्टेक ऊर्जा केन्द्र स्थापना गरिने (बैशाख ०७)

२०७८ बैशाख ०७ : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को ऊर्जामन्त्रीस्तरीय तेस्रो बैठक बुधबार सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट सम्पन्न भएको बैठकले ऊर्जा व्यापार सहजीकरण गर्ने, ग्रीड कनेक्सनसम्बन्धी गुरु योजना तयार पार्ने र ऊर्जा व्यापार केन्द्र स्थापना गर्ने विषयमा सहमति गर्दै १२ बुँदे संयूक्त वक्तव्य जारी गरेको छ । 

जारी संयूक्त वक्तव्यअनुसार ग्रीड अन्तर सम्बन्ध कार्यान्वयन तथा आवश्यक कार्ययोजना तयार गर्नका लागि ‘बिमस्टेक ग्रीड इन्टरकनेक्सन कोअर्डिनेसन कमिटी’ स्थापना गरिने भएको छ । एसियाली विकास बैंकको सहयोगमा बिमस्टेक ग्रीड पारस्पारिक जडान सम्बन्धी गुरुयोजना बनाइने छ । त्यसैगरी ऊर्जा व्यापारका लागि नीति एवम् ट्यारिफ प्रणाली विकास गरिने भएको छ । बिमस्टेक राष्ट्रहरुबीच ऊर्जाको व्यापार कसरी गर्ने भन्ने विषयमा सहकार्यको योजना बनाउन विशेषज्ञसहित समूह विकास गरिने वक्तब्यमा उल्लेख छ ।

ऊर्जासम्बन्धी अनुसन्धान गर्न र सदस्य राष्ट्रहरुबीच सहकार्यलाई सबल बनाउन बिमस्टेक ऊर्जा केन्द्र स्थापना गरिने भएको छ । त्यसका लागि गुरुयोजना र कार्ययोजना बनाउने, संरचना तयार गर्ने र सञ्चालनका लागि आवश्यक पर्ने कोष तयार गरिने छ । बैठकको अध्यक्षता ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गर्नुभएको थियो । स्वच्छ र नवीकरणीय प्राकृतिक स्रोतलाई ऊर्जाको रुपमा प्रयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ऊर्जा प्रवर्द्धनमा पर्याप्त आर्थिक लगानी गर्नुपर्ने बताउादै उहाँले बिमस्टेक क्षेत्रमा प्रविधि हस्तान्तरण गर्दै जानुपर्ने उल्लेख गर्नुभयो ।
नेपालले सन् २०३० सम्ममा कुल ऊर्जा मागको १५ प्रतिशत स्वच्छ ऊर्जा स्रोतबाट आपूर्ति गर्ने र सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जन गर्ने नीति लिएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!